समाचार
विज्ञापन प्रयोजनका लागि अनुमति तथा विज्ञापन कर सम्बन्धी सूचना ! मितिः २०८३ असोज १ गते, बिहीबार
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) (घ) तथा अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ बमोजिम विज्ञापन करसम्बन्धी नीति, कानून, मापदण्ड, दर निर्धारण, कार्यान्वयन तथा कर संकलन गर्ने अधिकार स्थानीय तहमा रहेको र नगरपालिकाको आन्तरिक स्रोत परिचालन तथा वित्तीय सुदृढीकरणका दृष्टिले विज्ञापन कर महत्वपूर्ण राजस्व स्रोत समेत रहेको हुँदा, नगरपालिका क्षेत्रभित्र प्रचलित कानुन तथा स्वीकृत मापदण्डबमोजिम विज्ञापन सामग्री व्यवस्थापन गरी सो बापतको विज्ञापन कर संकलन गर्ने कार्य नगरपालिकाको अधिकारक्षेत्रभित्र पर्ने व्यहोरा सबैमा अवगत नै छ ।
यस नगरपालिका क्षेत्रभित्र राखिने/ प्रदर्शन गरिने विज्ञापन सामग्रीबापत लाग्ने विज्ञापन कर विगतमा नगरपालिकासँग कानुनबमोजिम सम्झौता भएको कम्पनीमार्फत सङ्कलन हुँदै आएकोमा उक्त सम्झौताको अवधि मिति २०८३ भाद्र ३१ गते समाप्त भएको र मिति २०८३ आश्विन १ गतेदेखि नगरपालिकाले विज्ञापन कर स्वयम् सङ्कलन गर्ने व्यवस्था गरिएको व्यहोरा अनुरोध छ ।
तसर्थ नगरपालिका क्षेत्रभित्र विज्ञापन गर्ने सम्पूर्ण व्यक्ति, फर्म, कम्पनी, संघसंस्था, व्यवसायी, विज्ञापनदाता तथा विज्ञापन एजेन्सीहरूले प्रचलित कानून तथा सूर्यविनायक नगरपालिकाको आर्थिक ऐन, २०८३ बमोजिम विज्ञापन प्रयोजनका लागि नगरपालिकाबाट अनिवार्य पूर्व अनुमति लिई तोकिएको विज्ञापन कर तथा दस्तुर दाखिला गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
यस सम्बन्धमा देहायबमोजिम गर्न/गराउन सुचित गरिन्छः
१) नगरपालिका क्षेत्रभित्र हाल विज्ञापन सामग्री राखी/प्रदर्शन गरिरहेका सम्पूर्ण विज्ञापनदाता, व्यवसायी, फर्म, कम्पनी, संघसंस्था तथा विज्ञापन एजेन्सीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैतिस) दिनभित्र नगर कार्यपालिकाको कार्यालयबाट विज्ञापन प्रयोजनका लागि अनुमति लिनुपर्नेछ ।
२) विज्ञापन प्रयोजनका लागि लाग्ने विज्ञापन कर तथा दस्तुरको दर सूर्यविनायक नगरपालिकाको आर्थिक ऐन, २०८३ बमोजिम हुनेछ । अनुमति लिनका लागि सम्बन्धित विज्ञापनको स्थान, आकार, प्रकृति तथा अवधि खुलाउनुपर्नेछ । विज्ञापन कर नगर कार्यपालिकाको सम्बन्धित वडा कार्यालयहरुमा दाखिला गर्न सकिनेछ ।
३) आगामी दिनमा नगरपालिका क्षेत्रभित्र विज्ञापन सामग्री राखी/प्रदर्शन गर्न चाहने व्यक्ति, फर्म, कम्पनी, संघसंस्था तथा विज्ञापन एजेन्सीहरूले विज्ञापन सामग्री राख्नुपूर्व नै नगरपालिकाबाट अनुमति लिनुपर्नेछ ।
४) तोकिएको ३५ दिने अवधिभित्र अनुमति नलिएका वा अनुमति नवीकरण नगरी राखिएका/प्रदर्शन गरिएका विज्ञापन सामग्रीहरू नगरपालिकाले हटाउने/हटाउन लगाउने तथा सम्बन्धित विज्ञापनदाता वा व्यवसायीलाई प्रचलित कानूनबमोजिम जरिवाना तथा अन्य आवश्यक कारबाही गरिनेछ ।
५) सार्वजनिक सडक, फुटपाथ, ट्राफिक संकेत, विद्युत् पोल तथा सार्वजनिक संरचनामा आवागमन वा सार्वजनिक सुरक्षामा असर पर्ने गरी विज्ञापन सामग्री राख्न पाइने छैन ।
थप जानकारीको लागि सूर्यविनायक नगरपालिका नगर कार्यपालिकाको कार्यालय तथा नगरपालिकाको राजस्व शाखामा सम्पर्क गर्न सक्नुहुनेछ ।
-सूर्यविनायक नगरपालिका

